काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ ।
शुक्रबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा यान्कुवा मिन्टेहले दुई तथा काओरु मिटोमाले एक गोल गरे । ब्राइटनले नोभेम्बर ९ पछि घरेलु मैदानमा पहिलो जित दर्ता गरेको हो ।
पहिलो हाफको २७ औँ मिनेटमा जापानिज फरवार्ड मिटोमाको गोलमा ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ३८ औँ मिनेटमा मिन्टेहको गोलमा ब्राइटनले अग्रता दोब्बर पारेको थियो । उनले नै खेलको ६३ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दा टोलीको अग्रता ३–० ले फराकिलो पारे । हारसँगै शीर्ष पाँचमा नै रहेको चेल्सीको यात्रा केही कठिन हुँदै गएको छ ।
२५ खेलबाट ४३ अंक भएको चेल्सी अंकतालिकाको चौथो स्थानमा छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ४१ अंकमा तालिकाको पाचौँ स्थानमा छ। समान खेल र अंकबाट न्युक्यासल युनाइटेड छैटौँ स्थानमा छ ।
लिगको २५ खेलबाट ३७ अंक बनाएको ब्राइटन आठौँ स्थानमा छ। प्रिमियर लिगमा शनिबार राति सात खेल हुनेछन् ।