मंगलबार, साउन १२ गते २०८३
  • यो साता चर्चामा :
  • ११ वर्षमा १२ हजार नेपालीले विदेशी भूमिमा गुमाए ज्यान


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २८ २०८२१०:४५
    ११ वर्षमा १२ हजार नेपालीले विदेशी भूमिमा गुमाए ज्यान

    काठमाडौं । विदेशी भूमिमा रोजगारीका क्रममा झन्डै १२ हजार नेपालीले एघार वर्षको अवधिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा हृदयघात, आत्महत्या र सडक दुर्घटना वैदेशिक रोजगारीमा हुने नेपाली मृत्युदरका प्रमुख कारणका रूपमा देखिएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले संकलन गरेको तथ्याङ्कले यी कारणहरू देखाएको हो । हालै बोर्डले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन’ अनुसार, गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा १,५४४ जना नेपालीको मृत्यु भएको उल्लेख छ ।

    प्रतिवेदनअनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा बिरामी कारण ३२९, हृदयघातका कारण २२४ ज्यान गुमाए । त्यसरी र्न आत्महत्या गरी १९१ र सडक दुर्घटनामा परी १७६ जना नेपालीले ज्यान गुमाएका थिए ।

    गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये २१२ जनाको प्राकृतिक मृत्यु भएको थियो । उक्त वर्ष कार्यस्थलमा दुर्घटनामा परी ५४, क्यान्सरका कारण ४७, मिर्गौला समस्याका कारण १२, कोभिड–१९ का कारण ६ र अन्य कारणले २०८ जनाको मृत्यु भएको थियो ।

    गत वर्ष ३० जना नेपालीको मृत्युको कारण खुल्न सकेको छैन । सोही अवधिमा वैदेशिक रोजगारीमा रहेका ५ जना नेपालीको हत्या भएको थियो ।

    प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा सबैभन्दा धेरै नेपालीको मलेसियामा ३९४, साउदी अरेबियामा ३३५, युनाइटेड अरब इमिरेट्स (यूएई) मा ३११, कतारमा २५२, कुवेतमा ८४, बहराइनमा २५, रोमानियामा २४ मृत्यु भएको थियो ।

    त्यसरी नै दक्षिण कोरियामा १९, ओमानमा १५, क्रोएसियामा १४, मौरिससमा १३, जापानमा १३, माल्दिभ्समा ८, साइप्रसमा ६, ग्रिसमा ४, पोल्याण्डमा ४, भियतनाममा ३, ब्रुनाईमा ३, जोर्डनमा २, युगाण्डामा २, पोर्चुगलमा २ र माल्टामा २ जना नेपालीको मृत्यु भएको थियो ।

    “आर्थिक वर्ष २०८१/८२ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारहरूमध्ये मृत्यु भएका कुल १,५४४ जना नेपाली श्रमिकका नातेदारको बैंक खातामा बोर्डबाट नियमानुसार एक अर्ब ११ करोड ९४ लाख ६० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ,” प्रतिवेदनमा उल्लेख छ ।

    बोर्डको तथ्याङ्कअनुसार, पछिल्ला ११ वर्षमा वैदेशिक रोजगारीका क्रममा हुने नेपालीको मृत्युका प्रमुख कारण पनि हृदयघात, आत्महत्या र सडक दुर्घटनालाई नै देखाइएको छ ।

    बोर्डबाट प्राप्त विवरणअनुसार, आर्थिक वर्ष २०७१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको ११ वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा जम्मा ११,९६४ जना नेपालीको मृत्यु भएको छ ।

    आर्थिक वर्ष २०७१/७२ मा १,००६ जना, २०७२/७३ मा ८२७ जना, २०७३/७४ मा ७६० जना, २०७४/७५ मा ८३८ जना, २०७५/७६ मा ७८५ जना, २०७६/७७ मा ६८१ जना, २०७७/७८ मा १,२७६ जना, २०७८/७९ मा १,५१२ जना, २०७९/८० मा १,२७६ जना, २०८०/८१ मा १,४५९ जना र २०८१/८२ मा १,५४४ जना नेपालीको मृत्यु भएको देखिन्छ ।

    बितेका ११ वर्षमा वैदेशिक रोजगारीमा रहँदा बिरामी भएर २,७०९ जनाको मृत्यु भएको थियो । सो अवधिमा मृत्यु भएका २,२२६ जनाको कारण ‘प्राकृतिक’ जनाइएको छ ।

    बोर्डको विवरणअनुसार, पछिल्ला ११ वर्षमा वैदेशिक रोजगारीमा रहेकै अवस्थामा हृदयघात भएर १,८८२ जनाको मृत्यु भएको थियो भने सडक दुर्घटनामा परी १,४१९ जनाले ज्यान गुमाएका थिए । त्यसै अवधिमा १,४१८ जना नेपालीले वैदेशिक रोजगारीका क्रममा विदेशी भूमिमा आत्महत्या गरेको बोर्डको तथ्याङ्कले देखाउँछ ।

    यस्तै, सोही अवधिमा कार्यस्थल दुर्घटनामा परी ६३४ जना र अन्य (क्यान्सर, मिर्गौला समस्या, हत्या आदि) कारणले १,३६९ जना नेपालीको मृत्यु भएको थियो । बितेका ११ वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमध्ये २७५ जनाको मृत्युको कारण खुल्न सकेको छैन ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ