काठमाडौं । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन् ।
अकोन्कागुआ आरोहण जानुअघि पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिदै राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दैछन् ।
यसअघि पाण्डेले सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसकेका छन् ।
पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।