बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • क्यान्सर पीडितको उपचारका लागि गण्डकी सरकारले गर्‍यो कान्ति अस्पतालसँग सम्झौता


    हुलाक प्रेस

    • शनिबार, भदौ ७ २०८२१०:३४
    क्यान्सर पीडितको उपचारका लागि गण्डकी सरकारले गर्‍यो कान्ति अस्पतालसँग सम्झौता

    पोखरा । प्रदेश बासी क्यान्सर पीडित बिरामीको उपचारको लागि गण्डकी सरकारले कान्ति बाल अस्पतालसँग सम्झौता गरेको छ । क्यान्सरसँग लडिरहेका बालबालिकाको उपचारमा पहुँच सहज बनाउन सम्झौता गरिएको हो ।

    प्रदेशको स्वास्थ्य मन्त्रालय र काठमाडौँस्थित कान्ति बाल अस्पतालबिच उपचार सम्झौता गरिएको स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए ।

    सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा विश्वबन्धु बगाले र कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै अब गण्डकी प्रदेशका स्थायी बासिन्दा भएका र कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका बालबालिकाले थप आर्थिक राहत पाउने छन् ।

    क्यान्सर पीडितको उपचारको लागि प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएको छ । संघीय सरकारले ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५’ बमोजिम उपलब्ध गराउँदै आएको सहायता रकमका अतिरिक्त प्रदेश सरकारले प्रति बिरामी थप एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गर्नेछ ।

    यो सहायताले उपचारको क्रममा हुने महँगो खर्चको बोझ कम गरी परिवारलाई ठुलो राहत दिने स्वास्थ्य मन्त्री पाठकले सुनाए । सम्झौता अनुसार, प्रदेश सरकारले उपलब्ध गराउने सहायता रकम बिरामीको निदान, शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, औषधि, औषधीजन्य सामग्री तथा अन्य उपचार व्यवस्थापन खर्चमा उपयोग गरिनेछ । अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने, उपचारको अधिकतम सदुपयोग सुनिश्चित गर्नुपर्ने र कार्यक्रम कार्यान्वयनका लागि एकजना फोकल पर्सन तोक्नुपर्ने जस्ता सर्तहरू राखिएका छन् ।

    कान्ति बाल अस्पतालसँगको यो सम्झौता गण्डकी प्रदेशको सातौँ सम्झौता हो । यसअघि मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालसँग यस्तै सम्झौता गरिसकेको छ । 


  • सम्बन्धित विषय:

  • # कान्ति अस्पताल
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ