पर्यटन क्षेत्रले साधारण भरियालाई मालिक बनाउन सक्छ अनि सर्वसाधारणलाई उद्योगी । यसकै एक उदाहरण बनेका छन् संखुवासभा चिचिला गाउपालिका वडा नं २ स्थायी घर भएका तेन्जीन शेर्पा ।
सामान्य किसानी परिवारमा जन्मिएका तेन्जीन ४ दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल छन् । सुरुमा बिदेशीको भारी बोक्ने सहयोगी भएर यस क्षेत्र प्रवेश गरेका तेन्जीन हिमाल आरोही शेर्पाको रुपमा हुँदै आफ्नै हिमाल आरोहण सम्बन्धी कम्पनी हिमालयन रेन्ज इन्टरनेशनल ट्रेक्स एण्ड एक्सपोडिसन प्रा.लि. को अध्यक्ष बनेका छन् । हिमालयन समाज बिकास केन्द्र नामक सामाजिक संस्था स्थापना गरि सामाजिक कार्यमा सक्रिय छन् ।
उनले २०४५ सालदेखी २०५५ सम्म करिब १० बर्ष बिदेशी पर्यटक को भारी बोक्ने सहयोगी भएर काम गरे । २०५९ मा ट्रेकिङ गाइड को इजाजत लिएर पदयात्राको कार्यमा लागे । साे अवधीमा हिमाल आरोहण गर्न बिदेशी पर्यटकको सहयोगी भएर आरोहणको पेशामा लागे । २०६७ सालमा आफ्नै कम्पनी दर्ता गरि हिमाल आरोहण ब्यबसाय गर्दै आइरहेका छन ।
यस क्षेत्रमा सरकारी निति स्पष्ट नभएकोले साना कम्पनीलाई पेल्ने र ठुला कम्पनीलाई पोस्ने नीति रहेकोले हामीले दु:ख पाइरहेका छौँ, तेन्जीन भन्छन्, हामी मार्फत आउने पर्यटकलाई ठुला कम्पनीले 'हाईज्याक' गर्ने देखि राज्यले हामीलाई गर्ने तेस्रो दर्जाको व्यबहारले मुलतः साना र नयाँ पर्यटन व्यावसायिक मारमा परेका छन् । हाल संघीयताको अभ्यासले केन्द्रदेखि स्थानीय वडासम्म कर तिर्नु र सरकारी सुबिधा नपाउनु अत्यन्तै पीडादयी अवस्था छ । तसर्थ हिमाल माफियाको जालदेखी राज्य आतंकबाट बचाउँदै हामी साना व्यावसायिकले कठिन संघर्ष गर्नुपरेको छ ।'
तेन्जीनले पर्यटन उद्योगका साथै संस्था स्थापना गरि सामाजिक कार्य गर्दै आइरहेका छन् । संखुवासभा मै दर्ता संस्थाको काठमाडौंमा सम्पर्क कार्यालय रहेको छ ।
यस क्षेत्र सुधार गर्न नयाँ र साना व्यावसायिकहरुको एकता अनिवार्य रहेको तेन्जीनको बुझाइ छ । हाम्रो एकताले राज्यलाई यस व्यवसायमा पारदर्शिता र जवाफदेही बनाउन बल पुग्ने तेन्जीन बताउँछन् । समग्रमा यस क्षेत्रलाई सिमित ब्यक्ति कम्पनीको आम्दानीको स्रोत बाट मुक्त गरेर देशको आर्थिक समृद्धि हाँसिल गर्न सकियो भने मुलुक हितमा पर्यटन मेरुदण्डको भुमिकामा रहनेछ । अत: यस क्षेत्रको सुधार भनेकै नयाँ र साना कम्पनीको एकताले शक्ति सन्तुलन गरेर माफियाको आतंक अन्त्य गर्ने र राज्य कुशासनको संयन्त्रलाई सुधार गरेर सुशासन कायम मा योगदान होला भन्ने तेन्जीनको बुझाइ छ ।