काठमाडौं । लिभरपुलले टोटनह्याम हटस्परलाई आफ्नै मैदानमा फराकिलो अन्तरले पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ।
चोटले सताएको टोटेनह्यामविरुद्ध प्रभावशाली देखिएको लिभरपुलले आफ्नो रवाफिलो लयलाई जारी राख्ने क्रममा ६-३ गोलको जित निकाल्यो।
कुल ९ गोल भएको खेलमा लिभरपुलले खेलको २३ औं मिनेटमा ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्डको सटीक क्रसमा लुइस डियाजले हेडरमार्फत पहिलो गोल गरेको थियो। त्यसपछि, १३ मिनेटमै एलेक्सिस म्याक एलिस्टरले अर्को हेडर गोल गर्दै अग्रता दोब्बर बनाए।
स्पर्सका लागि जेम्स म्याडिसनले पहिलो हाफ सकिनु चार मिनेट अघि आफ्नो सिजनको आठौं गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर पहिलो हाफको इन्जुरी समयमा मोहम्मद सलाहको पासमा डोमिनिक शोबोस्लाईले सहज फिनिस गर्दै टिमलाई पहिलो हाफमै ३-१ को अवस्थामा पुर्याए।
बिहीबार म्यानचेस्टर युनाइटेडविरुद्ध काराबाओ कपको क्वार्टरफाइनल खेल खेलेकै टोलीलाई निरन्तरता दिएको टोटेनह्याम केही थकित देखिन्थ्यो। जसको फाइदा लिभरपुले उठायो।
खेलमा सलाहले खेलको ५४ औं मिनेटमा क्लोज रेंजबाट गोल बिल्ली लिडेलको २२८ गोलको कीर्तिमान बराबरी गरे। सलाहलेनै ६१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फराकिलो अग्रता निश्चित गरेका थिए।
डेजान कुलुसेभ्स्कीले १८ मिनेट बाँकी रहँदा पाँच खेल लगातार गोल गर्ने उपलब्धि हासिल गरे। त्यसपछि डोमिनिक सोलाङ्कीले स्कोरलाई थप प्रतिस्पर्धात्मक बनाउने प्रयासमा गोल गरे। तर लुइस डियाजले आफ्नो दोस्रो गोल गर्दै लिभरपुलको कुल गोललाई ६ गोल दिलाउँदै ६-३ को जित दिलाउन सफल भए।
जितपछि लिभरपुल १६ खेलबाट ३९ अङ्कका साथ शीर्ष स्थानमा छ। चेल्सी ३५ अङ्कका साथ दोस्रो र आर्सनल ३३ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ।